गुलरिया नगरपालिकाको फोहर नउठ्दा र्दुगन्ध बढ्दै
विष्णु प्रसाद अधिकारी, ३ असोज, बर्दिया । जेनजेड पुस्ताले गरेको आन्दोलन पश्चात गुलरिया नगरपालिकाको फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित बन्दै गईरहेको छ । आन्दोलनको दोस्रो दिन नगरपालिका तोडफोडसँगै फोहर उठाउने ट्रयाक्टरको ब्याट्री चोरी भएपछि फोहर उठाउन कठिनाई भएको बताईएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगर प्रवक्ता सुधाशु प्रकाश शर्माले कर्मचारीबाट असहयोग भएका कारण फोहर नउठेको बताउनु भयो । असोज ३ गतेदेखि नगरपालिकाले फोहोर उठाउने बताएपनि फोहर उठाउने सवारीको ब्याट्री चोरीएसँगै कर्मचारीबाट फोहर उठाईएको छैन । शर्माले भन्नुभयो कर्मचारीको असहोगका बाबजुद हामीले स्वयम स्थानियको सक्रियतामा नगर सरसफाई अभियान थाल्ने मनस्थितीमा छौं ।
सविधान दिवसको पूर्व सन्ध्यामा सुरक्षाकर्मी, संघसंस्था, कर्मचारीले संयुक्त रुपमा नगर सरसफाई गरी दिवस मनाईने प्रचलन रहेतापनि यस पटक त्यसो हुन सकेन । दिवस मनाउने क्रममा सम्मीलित सहभागिहरु नाक थुनेर संविधान दिनस मनाईरहदा नगरको फोहोरले सबैको ध्यान केन्द्रित गरेको थियो । गुलरिया सदरमुकामको बजार क्षेत्रमा सरकारी कार्यालय, ब्यापार रहेको हुँदा सबैभन्दा बढि फोहोर निस्कने गर्छ ।
गुलरिया नगरपालिका वडा नं. ७ का स्थानिय राम रावलले फोहर समयमै उठ्न नसके स्वास्थ्य समस्या निम्तिन सक्ने तर्फ सचेत गराउनु भयो । जस्तोसुकै अवस्था आएपनि नगरपालिकाले फोहोर ब्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । नगरको फोहोर नउठ्दा शहर दुर्गन्धित त हुन्छ नै महामारी रोग फैलिन सक्ने तर्फ सजग रहनुपर्ने स्थानियको भनाई छ ।
Facebook Comments