बर्दिया राष्ट्रिय निकुञ्जमा अवरुद्ध जिप सफारी शुचारु
केशव कोइराला, ७ असोज, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा साउन महिनादेखि अवरुद्ध भएको जिप सफारी सेवा पुनः संचालनमा आएको छ । वर्षायामसँगै आएको लगातारको वर्षा र हावाहुरीका कारण निकुञ्जभित्रका सडक अवरुद्ध भएपछि करिब दुई महिनासम्म सफारी सेवा स्थगित गरिएको थियो ।
निकुञ्ज भित्र हावाहुरीले ढालेका रुख तथा अवरोध पन्छाएर बाटो मर्मत सम्पन्न भएपछि फेरि जिप सफारी खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिनुभयो । निकुञ्ज प्रशासनले चाडपर्वको समयमा आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी सफारी संचालनमा ल्याएको हो । निकुञ्ज परिसर बाहेक घुम्न आउने अधिकांश पर्यटकले जिप सफारीलाई प्राथमिकता दिने भएकाले सेवाको उच्च माग निरन्तर रहेको छ ।
पर्यटन व्यवसायीका अनुसार बर्दियामा अहिले ३० भन्दा बढी साना–ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन् भने निकुञ्ज आसपासका गाउँमा होमस्टे सेवा पनि उपलब्ध छन् । जिप सफारी सञ्चालनका लागि पर्यटन व्यवसायीले हालसम्म ४१ वटा जिप दर्ता गराएका छन् । निकुञ्जले प्रत्येक सफारीमा तीन हजार रुपैयाँ राजस्व असुलगर्दै आएको छ । चाडबाडको समयमा विशेषगरी आन्तरिक पर्यटकसँगै सार्क राष्ट्रका पर्यटकको चहलपहल बढी हुने गरेको छ ।
सफारीमार्फत पर्यटकले बाघ, गैँडा, हात्ती, चित्तल, बाह्रसिङ्गा, जरायो लगायतका दुर्लभ वन्यजन्तु नजिकैबाट अवलोकन गर्न पाउने भएकाले निकुञ्जको आकर्षण बढ्दो छ । हालसम्म निकुञ्जमा ११ प्रजातिका स्तनधारी, ६ प्रजातिका चराचुरुङ्गी र ३ प्रजातिका घस्रने जनावर पाइने तथ्याङ्क रहेको निकुञ्ज प्रशासनले जनाएको छ । आर्थिक वर्ष ०८१/८२ मा मात्र २८ हजार ६७ जना आन्तरिक तथा बाह्य पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए ।
आर्थिक वर्ष ०८०/८१ मा २६ हजार १३१ जना र ०७९/८० मा २४ हजार ३९८ जना पर्यटक प्रवेश गरेका थिए । पछिल्ला वर्षमा पर्यटक आगमनमा निरन्तर वृद्धि हुँदै गएको देखिन्छ । निकुञ्जको आकर्षणमा जिप सफारीसँगै सुरक्षित, सहज र रोमाञ्चक वन्यजन्तु अवलोकनको अनुभव जोडिएको हुँदा आगामी दिनमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
Facebook Comments