बर्दियामा हात्तीको आक्रमणमा परी महिलाको मृत्यु
केशव कोइराला, १२ असोज, बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९, शिवपुरकी ४२ वर्षीया सिता खत्रीको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
गएराति धान खान आएको हात्तीलाई धपाउन निस्किएका बेला हात्तीले आक्रमण गर्दा खत्रीको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार खत्री करिब ३० मिटर टाढासम्म भागे पनि सुरक्षित हुन सक्नु भएन । हात्तीको आक्रमणले खत्रीको शरीर पूरै क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ । घटनापछि ठाकुरबाबा नगरपालिका–९ की वडा अध्यक्ष राधा चौधरी स्वयं घटनास्थल पुग्नुभएको र घटनाबारे नजिकबाट अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
यसअघि पनि बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना दोहोरिँदै आएका छन् । निकुञ्ज आसपासका बस्तीमा राति हात्तीको आक्रमण बढ्दै जाँदा स्थानीयवासी चिन्तित बनेका छन् ।
Facebook Comments