जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा भारी बर्षामा सतर्क रहन आग्रह
केशव कोईराला, १८ असोज, बर्दिया । देशका विभिन्न स्थानमा असोज १८ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले स्थानियलाई सतर्क रहन सूचना जारी गरेको छ । भारी बर्षासँगै बाढी, डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानिय प्रशासनले सूचना मार्फत नागरिकलाई सर्तक बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको सूचना अनुसार, लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन तत्कालका लागि नचलाउनुका साथै आवश्यक परे नजिकैको सुरक्षित स्थलमै मात्र आवागमन गर्न सकिने जनाइएको छ । जिल्लावासीलाई घरमै सुरक्षित रहन, जोखिमयुक्त नदी किनारा, डुबान क्षेत्र, पुल–पुलिया तथा नदी नजिकका बस्तीमा नजान आग्रह गरिएको छ ।
त्यस्तै विद्यालय, मेला–महोत्सव र भीडभाड हुने कार्यक्रम तत्कालका लागि स्थगित गरिएका छन् । उच्च जोखिम भएका क्षेत्रका बासिन्दाले सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा बस्न र आवश्यक खाद्यान्न, औषधि, टर्च तथा बत्ती जस्ता सामग्री सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।
आपतकालीन अवस्थामा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना वा स्थानीय प्रशासनलाई तत्काल खबर दिन प्रशासनले अपिल गरेको छ । कार्यालयले प्रकोप नियन्त्रण र क्षति न्यूनीकरण सबैको साझा दायित्व हुने भन्दै सूचना गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ । “सुरक्षित रहनुहोस, अरूलाई पनि सचेत गराउनुहास, प्रशासनसँग सहकार्य गर्नुहोसभन्दै सुचना मार्फत सहकार्यको अपिल गरिएको छ ।
Facebook Comments