• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
बाँसगढीका निर्माण स्थल अनुगमन : श्रमीकहरु ज्यालाबारे अनविज्ञ

विन्दु चौधरी, मंसिर ११, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका अन्र्तगत अनुगमन समितीका संयोजक तथा नगर उपप्रमुख इन्दिरा चौधरीको नेतृत्वमा बुधबार पालिका भित्रका विभिन्न निर्माण स्थलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा श्रमिकको ज्याला, कामको सम्मान, सुरक्षा सामग्री, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा लगायत श्रमिकले पाउनुपर्ने सुविधाहरूको अवस्था नजिकबाट निरीक्षण गरिएको छ ।

अनुगमनका क्रममा धेरै स्थानमा श्रमिकले आफुले पाउने ज्यालाबारे अनविज्ञ भएको, हाजिरी कार्ड नपाएको, आवश्यक सुरक्षा सामग्री नपाएको र जिल्ला दररेट अनुसार ज्याला प्राप्त नभएको तथ्य फेला परेको अनुगमन टोलीले जनाएको छ । समस्या पहिचान भएपछि ठेकेदार तथा निर्माण कम्पनीसँग समन्वय गरी हाजिरी कार्ड वितरण, सुरक्षा सामग्री उपलब्ध गराउने र श्रमिकलाई निर्धारित दररेट अनुसार ज्याला दिलाउने पहल गर्ने निर्णय भएको नगर उपप्रमुख ईन्दिरा चौधरीले बताउनुभयो । 

टोलीले श्रमिकका हक–अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध तत्काल लागू गर्न आग्रह गरेको छ । ठेकेदार पक्षले पनि समस्याको समाधान गर्न सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । अनुगमन टोलीले बाँसगढी नगरपालिका–८ ककौरास्थित पिएस निर्माण सेवाले लिइरहेको तटबन्ध निर्माण कार्य असारसम्म सम्पन्न हुने जानकारी दिएको छ । त्यस्तै, वडा नं ६ अन्तर्गत दाङपुर दमौलीस्थित रिहार टोल हुँदै सोल्टी टोल, मिलन टोल र शिव मन्दिरसम्मको नहर तथा बाटो निर्माण कार्य पनि निरीक्षण गरिएको थियो । 

बबई सिँचाइ नहर, स्थानीय सडक र तटबन्धको समग्र अवस्था बारेमा पनि टोलीले साइड भिजिट गरी सुझाव समेत दिईएको छ । अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, वडा नं ८ का वडाध्यक्ष तुलप्रसाद गौतम, वडा नं ६ का वडासदस्य सुर्यबहादुर सिंह, योजना शाखा प्रमुख खडक बहादुर वली, रोजगार शाखा संयोजक शुभाष पराजुली, राधाकृष्ण जनसेवा केन्द्रका स्थानीय अधिकार कार्यक्रम अधिकृत जयराम चौधरी, मजदुर संघ नगर समिति सदस्य तथा अभियानकर्मी गीता कुमालसहित स्थानीय पत्रकारको सहभागीता थियो । 

सम्बन्धित समाचार

Facebook Comments