• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
बाँसगढी नगरपालिकामा कपडा वैंक सञ्चालन 

विन्दु चौधरी, मंसिर १६, बाँसगढी (बर्दिया) । बाँसगढीमा कपडा बैंक सञ्चालन भएको छ । क्लोथ एण्ड फुड बैङ्क नेपालसँगको सहकार्यमा मंगलवार औपचारिक उद्घाटन गरिएको छ । 

उद्घाटनसँगै न्यानो कपडा वितरण कार्यक्रम पनि सुरु गरिएको छ । विपद्मा परेका तथा आर्थिक रूपमा कमजोर परिवारलाई निःशुल्क कपडा वितरण गर्न कपडा बैंक खोलिएको हो । जाडो मौसममा नागरिकले आफ्नै गाउँ–नगरमा सरकारले सहयोग गरेको अनुभव होस् भनेर पनि यो पहल गरिएको हो । स्थानीय स्तरबाट संकलित पुराना तर प्रयोगयोग्य कपडालाई प्रशोधन गरेर आवश्यक पर्ने परिवारलाई प्राथमिकतामा राखेर वितरण गरिने नगर प्रमुख खडक बहादुर खडकाले बताउनुभयो । 

यो अभियान बुटवलबाट सुरु भएको हो । हालसम्म देशभर २ सय ७ स्थानमा कपडा बैंक स्थापना भइसकेका छन् । ९८ वटा स्थानीय तहसँग समन्वय गरेर शाखा विस्तार गरिएको क्लोथ एण्ड फुड बैङ्क नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयो । यस अभियानका संरक्षक तथा महाअभियन्ता वरिष्ठ कलाकार राजेश हमाल हुनुहुन्छ । कपडा बैंक खुल्दै जाँदा स्थानीयले दैनिक प्रयोगमा नआएका कपडा वैंकमा दिने गरेका छन् । 

शुभारम्भका दिन बाँसगढी नगरपालिका वडा नम्बर ४, ५ र ६ का नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बुधवार बिहान ११ बजे वडा नम्बर २ र ३ तथा दिउँसो २ बजे वडा नं. ७, ८ र ९ का नागरिकलाई कपडा वितरण गरिने बताईएको छ । नगरपालिकाको लक्ष्य बाँसगढीका ९ वटै वडामा एक हजार जनालाई न्यानो कपडा वितरण गर्ने रहेको छ । नगर प्रमुखका अनुसार, कपडा बैंकले समुदायमा दान, सहयोग र साझेदारीको संस्कार विकास गर्न ठूलो भूमिका पुग्ने भएकाले कार्यक्रम निरन्तर रूपमा अघि बढाइने बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments