• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
स्थानियतहमा अपांगता मैत्री बजेट नहुँदा समस्या

दलबहादुर सुनार, मंसिर २०, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित तीन दिने घुम्ती शिविरबाट करिब चार सयजना अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आयोजना गरिएको शिविरले स्वास्थ्य सेवा, अपाङ्गता पहिचान तथा सहायक सामग्रीको पहुँच गाउँगाउँमा पुग्ने विस्वास लिईएको छ ।

अपांगता अधिकार : नीति राम्रो, कार्यान्वयन कमजोर

अपांगता अधिकार अभियन्ताहरूका अनुसार अन्तर्राष्ट्रिय दिवसले प्रत्येक वर्ष सरकार तथा सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिहरूको हक, सम्मान र समावेशीताप्रति पुनः स्मरण गराउँछ । तर एक दिनको उत्सवले मात्र समस्याको समाधान नहुने उनीहरूको धारणा छ ।

नेपालको संविधान २०७२ ले अपांगता भएका नागरिकलाई सार्वजनिक सेवामा समान पहुँच र मर्यादित जीवनयापनको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा धेरै व्यक्ति सेवा–सुविधाबाट वञ्चित छन् । स्थानीय तहहरूले ‘अपाङ्गता मैत्री बजेट’ प्रभावकारी रूपमा नबनाएको र बनेका नीतिगत ब्यबस्थालाई कार्यान्वयन नगरेको भन्दै आलोचना हुँदै आएको सहभागीले बताएका छन् ।

अपांगता दिवस : अधिकार र समावेशिताका साझा प्रतिवद्धता

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर ‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवस’ मनाइँदै आएको छ। ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन : सामाजिक उन्नतिको सम्वद्र्धन’ भन्ने नारासहित नेपालभर विभिन्न कार्यक्रमसँगै दिवस मनाइयो ।

बर्दिया जिल्लाका आठवटै स्थानीय तहमा अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, हाजिरजवाफ लगायत विविध कार्यक्रम भए। तीमध्ये बढैयाताल गाउँपालिकाले भने सेवा वञ्चित रहेको समूदाय सम्म स्वास्थ्य र पहिचान सेवा पु¥याउने उद्देश्यले तीन दिने घुम्ती शिविर सञ्चालन ग¥यो।

तीन दिन, तीन स्थान : स्वास्थ्य सेवा घरदैलोमै

शिविरको उद्घाटन मंसिर १७ गते बढैयाताल गाउँपालिका वडा नम्बर ९ स्थित आधारभूत स्वास्थ्य केन्द्र शक्तिनगरमा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षता तथा अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा गरिएको थियो ।

पालिकाको महिला शाखाका अनुसार पहिलो दिन शक्तिनगरमा १ सय ८० जना, दोस्रो दिन वडा नं. ७ तिलकाना ९० जना, तेस्रो दिन प्राथमिक स्वास्थ्य केन्द्र सोरहवा १ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शारीरिक, कान तथा आँखा सम्बन्धी परीक्षणमा एचआरडीसी हल्दापुर, बी.एन. हस्पिटल नेपालगञ्ज, र बर्दिया आँखा अस्पताल मधुवनका प्राविधिकहरूको टोली परिचालित थियो ।

सहायक सामग्री वितरणदेखि उपचारका लागि रेफरसम्म

एचआरडीसीका अनुसार १ सय ५६ बाल बालिकाहरु मध्ये ६ जनालाई थप उपचार (सर्जरी) का लागि बनेपा रिफर गरिएको छ । यसैगरी शिविरमा ३ वटा वाकर, ५ वटा बैसाखी, प्रदान गरिएको थियो । त्यस्तै १ जना लाई ह्विलचेयरमा, १ जना लाई लम्बर पेटीको लागि आवश्यकता पहिचान भएको र १ सय ३५ भन्दा बढीलाई फिजियोथेरापी तथा परामर्श  गरिएको छ ।

कान सम्बन्धी परीक्षणमा ९६ मध्ये ८ जनालाई शल्यक्रियाको आवश्यकता पहिचान भएको बि.एन. हस्पिटलका गोविन्द बोहोराले जानकारी दिनुभयो । त्यसैगरी आँखा परीक्षणमा १ सय ५० जनामध्ये मोतिबिन्दु तथा मासु पलाएको देखा परेका १८ जनालाई सर्जरीका लागि रेफर गरिएको बर्दिया आँखा अस्पतालका प्राविधिक अञ्जली थारुले चुरेकुञ्जलाई जानकारी दिनु भएको छ । 

‘पहिलोपटक सेवा घर नजिकै’ : सेवाग्राहीहरू खुसी

शिविरबाट सहायक सामग्री पाएपछि धेरै अपांगता भएका व्यक्तिमा नयाँ उर्जा देखिएको छ । बढैयाताल–१, शान्तिपुरका ५४ वर्षीय बिर्खबहादुर मल्ल भन्नुहुन्छ “मेरुदण्डको समस्या भएर एक काठको लौरो टेकेर कष्टसाथ हिँड्थेँ । आज वाकर पाएपछि निकै सहज भएको छ । यस्ता सेवा पहिले नै आएको भए धेरैको जीवन बदलिन्थ्यो ।”

यस्तै मुनालबस्ती निवासी पक्षघातले अपांग हुनु भएका ५६ वर्षीय शिवराम अधिकारी पाँच वर्षदेखि वाकर पाउँदा अत्यन्त खुसी देखिनु हुन्थ्यो । “घरको भित्र–बाहिर जान अरूको भर पर्नुपथ्र्यो, अब वाकरले धेरै सहज बनाइदिएको छ ।” उहाँले भन्नुभयो ।

सहयोग र समन्वयमा साझेदार संघ संस्थाको एकता

महिला शाखा बढैयातालको आयोजनामा भएको शिविरमा बढैयाताल गाउँपालिका तथा आईएनएफ बर्दियाको आर्थिक सहयोग रहेको थियो । अपांग समन्वय समिति, एचआरडीसी हल्दापुर, बी.एन. हस्पिटल नेपालगञ्ज, बर्दिया आँखा अस्पताल तथा सबै वडाहरुको सहयोगमा शिविर सफल भएको आयोजकले जनाएको छ ।

उद्घाटन तथा समापनका अतिथी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, प्राथमिक स्वास्थ्य केन्द्र सोरहवाका प्रमुख डा. सुवर्ण श्रेष्ठ, लेखा अधिकृत नारायण त्रिपाठी, स्वास्थ्य शाखाका विष्णु पौडेल, शिक्षा शाखाका बिमला गुरुङ, आधारभुत स्वास्थ्य केन्द्र शक्तिनगरका इन्चार्ज अनुप चौधरी, आधारभुत स्वास्थ्य केन्द्र तिलकानाका इन्चार्ज पशुपति ज्ञवाली, बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटा, आइएनएफका रामबहादुर बुढामगर, गणेश चैधरी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रियता सहभागीता थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments