बाँसगढीमा ८ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
विन्दु चौधरी, पुष ०९, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका नगर खेलकुद विकास समितीको आयोजनामा आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवार देखि सुरु भएको छ । मगरपुर कभर्डहल मैदानमा आयोजित उद्घाटन समारोहबीच जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
पुष ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका ९ वटै वडाका ३५ वटा विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउने छन् । प्रतियोगितामा मावि तहअन्तर्गत एथलेटिक्स, कबड्डी, भलिवल र मार्शल आट्र्स गरी चार विधाका खेलमा प्रतिस्पर्धा हुनेछ । साथै उसु, कराँते, तेक्वान्दो जस्ता खेललाई पनि रनिङ सिल्ड प्रतियोगितामा समेटिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समिती बर्दियाका प्रमुख विष्टले खेलकुदले अनुशासन, स्वस्थ जीवनशैली र आपसी सद्भाव विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले विद्यार्थी तहदेखि नै खेलकुदमा लगाव बढाउन यस्ता प्रतियोगिता प्रभावकारी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले नगरपालिकाको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो । उहाँले खेलकुद गतिविधिको प्रभावकारी विकास र व्यवस्थापनका लागि नगर खेलकुद विकास समितिलाई सम्पूर्ण खेलकुद कार्यक्रम सञ्चालनको जिम्मेवारी दिइएको बताउनुभयो ।
नगर खेलकुद विकास समितीका अध्यक्ष नैनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इन्दिरा चौधरी, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगिताअन्तर्गत आयोजित मार्चपासमा नगरभित्रका २० वटा माध्यमिक विद्यालय र १५ वटा आधारभूत विद्यालय गरी जम्मा ३५ वटा विद्यालयले सहभागिता जनाएका थिए । उद्घाटन खेल संचालन बाँसगढी नगरपालिका शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीले गर्नुभएको थियो । भने स्वागत वाडं न ४ का वडाअध्यक्ष कृष्णप्रसाद बास्तोलाले गर्नुभएको थियो ।
१० °C काठमाडौं
Facebook Comments