• ३० वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
कमैया महिला जागरण समाजद्वारा सञ्चालित १२ बर्षे परियोजना सकियो

दलबहादुर सुनार, पुष १०, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित स्थानीय अधिकार सम्बन्धी १२ वर्षे परियोजनाको बुधवार अन्तिम समिक्षा गरिएको छ । कमैया महिला जागरण समाज, बर्दियाले सञ्चालन गरेको परियोजनाको समिक्षा गरिएको हो ।

परियोजनाका संयोजक रमेश चौधरीका अनुसार परियोजनाबाट समुदायमा बालविवाह विरुद्ध अभियान सञ्चालन भई बाल क्लबमार्फत सक्रिय पहल गरिएको, श्रमिकहरूले सरकारी दररेट अनुसार ज्याला पाउन थालेको, महिला–पुरुषबीच कामको न्यायोचित बाँडफाँडको अभ्यास सुरु भई महिलाको कार्यबोझ कम भएको साथै तरकारी तथा पशुपंक्षी पालनमार्फत आयआर्जनमा वृद्धि भएको प्रमुख उपलब्धिका रूपमा लिइएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ४, ५, ६ र ७ का मुक्त कमैया परिवारलाई लक्षित गर्दै सन् २०१३ देखि २०२५ सम्म सञ्चालन गरिएको यो परियोजना बुधवारबाट औपचारिक रूपमा सकिएको संयोजक चौधरीले जानकारी दिनुभयो । परियोजनाको १२ वर्षे अवधिमा “जसको सवाल, उसको अगुवाइ” सुनिश्चित गर्न सकेमा परियोजनाका उद्देश्य पूरा गर्न सहज हुने सिकाइ प्राप्त भएको उहाँले बताउनुभयो । साथै समुदायस्तरका कार्यक्रममा सहभागिता बढ्नु, लक्षित समुदायको आत्मविश्वास वृद्धि हुनु र समुदाय तथा स्थानीय तहमा प्रभावकारी परिचालन हुन सक्नु परियोजनाका महत्वपूर्ण सिकाइहरू हुन् । 

यद्यपि मुक्त कमैयाका सवालमा प्रर्याप्त चाँसो नदिनु तथा श्रमिकहरूले आफ्ना हक–अधिकारका लागि प्रर्याप्त पहल नगर्नु मुख्य चुनौतीका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो । एक्सन एड नेपालको सहयोगमा बर्दियाका चार पालिकामा सञ्चालन गरिएको उक्त परियोजना संघीय संरचना अघि मुक्त कमैया बस्ती बढी रहेका तत्कालीन गाविसहरूमा केन्द्रित थियो । संघीय संरचना पश्चात् बढैयाताल गाउँपालिका पनि परियोजनामा समेटिएको हो । परियोजना अन्तर्गत मुक्त कमैयाका बालबालिकाका लागि शिक्षा तथा स्वास्थ्य अन्तर्गत पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । 

जसबाट पाँच सयभन्दा बढी बालबालिका लाभान्वित भएका छन् भने करिब दुई सयभन्दा बढी महिला जीविकोपार्जन कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको संयोजक चौधरीले जानकारी दिनुभयो । परियोजना सम्पन्न भए पनि आगामी दिनमा श्रम अधिकारको अभियानलाई निरन्तरता दिने, कमैया पुनःस्थापनाका लागि पहल गर्ने, महिला अधिकार सुनिश्चितताका लागि वकालत गर्ने, दिगो उत्पादनशीलता, विपद् व्यवस्थापन तथा जलवायु न्यायका लागि अभियान सञ्चालन गर्ने र निःशुल्क सार्वजनिक शिक्षाको सुनिश्चितताका लागि पैरवी गर्ने योजना रहेको उहाँले प्रष्ट्याउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले कमैया महिला जागरण समाजले विगतदेखि हालसम्म गरेका कार्यहरू प्रशंसनीय रहेको उल्लेख गर्दै समुदायको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना सञ्चालन गरेकोमा संस्थालाई विशेष धन्यवाद दिनुभयो । परियोजनाको सहयोगमा सञ्चालित दुईवटा शिशु स्याहार केन्द्रहरू व्यवस्थित रूपमा सञ्चालनमा रहेको जानकारी पनि गराइएको थियो । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नरे थापा, वडा नं. ५ का अध्यक्ष तुलाराम थारु, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, सरस्वती माध्यमिक विद्यालय जगतियाका प्रधानाध्यापक बुद्धिराम थारु, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेल, जनमुखी आधारभूत विद्यालय रामनगरका प्रधानाध्यापक जीवन थारु लगायत विभिन्न लक्षित समूहका प्रतिनिधिहरूले परियोजनाले जनमानसमा पारेको सकारात्मक प्रभावको प्रशंसा गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments