बर्दियाको राजापुरमा जंगली हात्तीको आतंक बढ्दा किसान चिन्तित
केशव कोइराला, २३ वैशाख, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा जंगली हात्तीको बढ्दो आतंकका कारण स्थानीय किसानहरू त्रसित बनेका छन् । राजापुर नगरपालिका–४ अन्तर्गत सरस्वती सामुदायिक वन आसपासका क्षेत्रमा केही दिनयता जंगली हात्ती बस्ती नजिकै प्रवेश गरी बालीनाली नष्ट गर्नुका साथै घरटहरा समेत भत्काउँदै आएको छ ।
स्थानीयका अनुसार राजापुर बजारदेखि दक्षिणतर्फ पर्ने करिब ७ हेक्टर क्षेत्रफलमा लगाइएको मकै र चैते धानमा ठूलो क्षति पुगेको छ । विशेषगरी रातिको समयमा हात्ती बस्ती छिर्ने र आतंक मच्चाउने क्रम बढेको उनीहरूको भनाइ छ । विगत ८ दिनदेखि निरन्तर रूपमा हात्तीले क्षति पु¥याइरहेको किसानहरूले बताएका छन् ।
घुम्ना गाउँ, दलै गाउँ र छेदिया बस्ती यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । ती क्षेत्रका कृषकहरूका अनुसार हात्तीले बालीनाली मात्र नभई घरटहरा समेत भत्काइदिँदा दैनिक जीवनयापन नै कठिन बन्दै गएको छ । निरन्तरको आक्रमणले आगामी दिनमा अझ ठूलो धनजनको क्षति हुन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यस समस्यालाई समाधान गर्न तत्काल पहल गर्नुपर्ने माग गर्दै बरघर तथा कृषकहरूले आज राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु समक्ष संयुक्त रूपमा निवेदन पेश गरेका छन् । निवेदनमा हात्ती नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न, सुरक्षाको व्यवस्था गर्न तथा पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
निवेदन बुझ्दै नगरप्रमुख दिपेश थारुले आफू यस विषयमा निरन्तर जानकार रहेको बताउँदै सम्बन्धित निकायमा जानकारी गराइसकेको र समस्या समाधानका लागि आवश्यक समन्वय तथा पहल भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीयको जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै छिट्टै उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१९ °C काठमाडौं
Facebook Comments