• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
मधुवन नगरपालिकाका जन प्रतिनिधिहरुसँग संरक्षण बारे संवाद 

मुरली गोडिया, पुष १३, गुलरिया (बर्दिया) । मधुवन नगरपालिकाका जनप्रतिनिधिहरुसंग संरक्षण संवाद तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । खाता सामुदायिक वन समन्वय समितिको कार्यक्षेत्र रहेका वडामा पछिल्लो समयमा वन्यजन्तुको व्यवहार सम्बन्धि स्थानीयलाई सचेत गराउँदा मानविय क्षति कम हुँदै गएको देखिएको कार्यक्रममा जानकारी गराइएको छ । 

वन्यजन्तुले आफ्नो व्यवहार परिर्वतन गर्न सक्दैन तर, मानवले आफ्नो व्यवहार परिवर्तन गरी केही हदसम्म द्वन्द्व न्युनिकरण गर्न सकिने बारे छलफल गरिएको छ । संवाद कार्यक्रममा वन सम्र्वद्धन प्रणालीमा आधारित वन व्यवस्थापन तथा राहत वितरण सम्बन्धि डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले प्रस्तुतीकरण गर्नु भएको थियो । मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न हात्तीको व्यवहारको पारिस्थितिकी सम्बन्धमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले गर्नु भएको थियो । यस्तै मानव वन्यजन्तु सह अस्तित्वमा सुरक्षा र विमाको भुमिका सम्बन्धि उज्यालो नेपालका तर्फबाट रमेश थापाले प्रस्तुतीकरण गर्नु भएको थियो ।

मधुवन नगरपालिका तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम बाँकेको आर्थिक सहयोग, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा सहकार्य र खाता सामुदायिक वन समन्वय समितिको आयोजनामा शनिबार मधुवन नगरपालिका–१ डल्ला स्थित जनप्रतिनिधिहरुसंग संरक्षण संवाद कार्यक्रम गरिएको हो । प्रकृतिमा रहेका सबै प्राणीको अस्तित्व स्वीकार गर्नु हाम्रो दायित्व रहेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनु भयो । प्रजिअ हमालले प्रकृतिमा बस्ने वन्यजन्तुलाई संरक्षणगर्दै आगामी दिनमा मानवलाई कसरी संरक्षण गर्न सकिन्छ, भन्ने बारेको छलफलले सहजता मिल्ने बताउनु भयो ।

मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई न्युनिकरण गरि सह–अस्तित्व कायम गर्ने उदेश्यले मधुवन सरकार अघि बढेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताउनु भयो । समस्या समाधान गर्न अब जनप्रतिनिधि, संरक्षणकर्मी, संरक्षणसंग सम्बन्धित संघ संस्था र तीन वटै तहको सरकार मिलेर काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । मधुवनका केही वडामा राहत, वन्यजन्तुबाट जोगिन अपनाउनु पर्ने सावधानी लगायत सामान्य जानकारी नभएको भेटिदाँ पालिका र साँझेदार निकायसंग समन्वय गरी कार्यक्रमको आयोजना गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताउनु भयो । कार्यक्रममा सिकेका कुरा सहभागी जनप्रतिनिधिहरुले आफ्–आफ्नो वडावासीलाई सिकाउन अध्यक्ष गुरुङ्गले आग्रह समेत गर्नु भयो ।

सम्बन्धित समाचार

Facebook Comments