राजापुर नगरपालिका वडा नम्बर ६ द्वारा न्यानो कपडा वितरण
केशव कोईराला, १६ पुष, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ ले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अशक्त अपाङ्गता तथा एकल महिलालाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ । वार्षिक स्वीकृत बजेट अन्तर्गत चिसो मौसमबाट जोगिन ६ सय जना लाभग्राहीलाई कम्मलसहित न्यानो कपडा वितरण गरेको हो ।
वडा नं. ६ का अध्यक्ष असराज न्यौपानेका अनुसार ३ लाख २५ हजार रुपैयाँको स्वीकृत बजेटबाट कार्यक्रम सञ्चालन गरिएको हो । ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरू चिसो मौसममा अत्यन्त प्रभावित हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा र सम्मानका लागि न्यानो कपडा वितरण कार्य थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरू समाजका आस्थाका धरोहर तथा विवेकका खानी भएको उल्लेखगर्दै सही मार्गदर्शन दिने अभिभावकका रूपमा सबैले माया, सम्मान र सहयोग गर्नुपर्ने दायित्व नागरिकहरूमाथि रहेको उहाँको भनाई छ । आफू निर्वाचित भएर आएदेखि प्रत्येक वर्ष यस्ता सम्मान तथा सहयोगका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँको प्रतिवद्धता छ ।
वडा सदस्य बलबहादुर राणा लगायत अन्य जनप्रतिनिधि तथा स्थानीयको कार्यक्रममा सहभागीता थियो । न्यानो कपडा प्राप्त गरेपछि ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपाङ्गता भएका ब्यक्ति तथा ज्येष्ठ दलित समुदायका व्यक्तिहरूले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै चिसो समयमा कार्यक्रमले ठूलो राहत पुगेको प्रतिक्रिया दिए ।
२६ °C काठमाडौं
Facebook Comments