विद्या ज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा पौने १ करोड बढी सहयोग संकलन
दलबहादुर सुनार, १९ पुष, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुरमा अवस्थित विद्या ज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा ७५ लाखभन्दा बढी सहयोग संकलन भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले मनाइरहेको स्वर्ण महोत्सवमा अक्षयकोष र स्वर्ण महेत्सव सञ्चालनार्थ रकम संकलन भएको छ ।
ऐतिहासिक स्वर्ण महोत्सवको अवसरमा ४५ वटा अक्षयकोष स्थापना गरिएको छ जसमा विद्यालयका पूर्व विद्यार्थी ठुलो योगदान रहेको छ । स्वर्ण महोत्सव मूल समारोह तथा अक्षयकोष स्थापना अभियान अन्तर्गत २०८२ साल पौष १७ गतेसम्म ४१ जना अक्षयकोष दाताबाट ५७ लाख ७७ हजार ५८७ रुपैयाँ सङ्कलन भएको विद्यालयले जनाएको छ । सङ्कलित रकम सम्बन्धित दातासँगको समन्वयमा कार्यविधि बनाएर व्यवस्थित रूपमा सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिनुभयो ।
यसअघि स्थापना भएका ४ वटा अक्षयकोषको रकम समेत जोड्दा कुल ६१ लाख ८३ हजार ९९३ रुपैयाँ अक्षयकोषमा जम्मा भइसकेको छ । हालसम्म कुल ४५ वटा अक्षयकोषका लागि आर्थिक सहयोग प्राप्त भएको उहाँले प्रष्ट्याउनु भयो । विद्यालयको स्वर्ण महोत्सवलाई ऐतिहासिक बनाउन पूर्व विद्यार्थी, पूर्व शिक्षक, शिक्षा प्रेमी, अभिभावक तथा विभिन्न दाताहरूबाट १७ लाख ९६ हजार १७ रुपैयाँ स्वर्ण महोत्सव सञ्चालनार्थ सहयोग प्राप्त भएको प्रधानाध्यापक रेग्मीको भनाई छ ।
विद्यालयले दिएको जानकारी अनुसार २०८२ साल मंसिर २६ गतेदेखि पौष १७ गतेसम्म स्वर्ण महोत्सव सञ्चालन र अक्षयकोष स्थापनार्थ गरी कुल ७५ लाख ७३ हजार ६०४ रुपैयाँ आर्थिक संकलन भएको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयको स्थापनाकालदेखि हालसम्म भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउने अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा सहयोग दाताहरूलाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ ।
स्वर्ण महोत्सवलाई थप स्मरणीय बनाउन पौष ६ गतेदेखि १६ गतेसम्म विभिन्न जातजातिका भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता, अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम लगायतका विविध कार्यक्रमको आयोजना गरिएको थियो । स्वर्णमहोत्सवकै अवसरमा आयोजित विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार २०० भन्दा बढी नागरिकले सेवा लिएका छन् ।
शिविरमा यौन तथा छाला रोग, स्त्री रोग, हाडजोर्नी, आँखा, पिसाब तथा रगत परीक्षणका साथै रक्तदान कार्यक्रमसमेत गरिएको थियो । उक्त शिविरको संयोजन प्रविधिविज्ञ तथा विद्यालयका पूर्व विद्यार्थी पुण्यप्रसाद ढकाल प्रसिद्ध ले गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्पराज पौडेलले जानकारी दिनुभयो । विक्रम सम्बत् २०३२ साल पौष १८ गते स्थापना भएको विद्यालयका संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर पौडेल र संस्थापक प्रधानाध्यापक महेश्वर ढकाललाई समेत प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा मूल समारोहका प्रमुख अतिथि जन्मजय तिमिल्सिनाले स्वर्ण स्तम्भको ब्यानर अनावरण गर्दै बिहिवार स्वर्ण महोत्सव वर्ष ०८१÷०८२ को मूल समारोहको विधिवत उद्घाटन गर्नुभएको थियो । उक्त स्वर्ण स्तम्भ विद्यालयका पूर्व विद्यार्थी विश्वराज पौडेलको सहयोगमा निर्माण गरिएको हो । विद्यालयको सरस्वती मन्दिर पूर्व विद्यार्थी सोम पाण्डे र मंगल पाण्डेको खर्चमा निर्माण गरिएको प्रधानाध्यापक रेग्मीले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व संघीय खानेपानी मन्त्री अब्दुल खाँन, लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, विद्यालयका पूर्व प्राचार्य तथा शिक्षक, पूर्व तथा वर्तमान विद्यार्थी, अक्षयकोष दाता र चन्दादाताहरूको उल्लेखनीय सहभागीता थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक कृष्णबहादुर रानाभाटले गर्नुभएको थियो ।
विद्यालयले स्वर्ण महोत्सव वर्ष २०८१÷०८२ को मूल समारोह कार्यक्रम बिहीबार सम्पन्नगर्दै पौष १८ गते शुक्रवार सम्मान, बिविध साँस्कृतिक लगाएतका कार्यक्रम गर्दै ५१ औ वार्षिकोत्सव भब्य रूपमा मनाएको छ । १८ गते ५१ औ वार्षिक उत्सव कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, विद्यालयका संस्थापक प्रधानाध्यापक महेश्वर ढकाल, बिद्यालयका पूर्व बिद्यार्थी अब्दुल खाँन, पुस्कर सापकोटा लगाएतले शुभकामना दिनुभएको छ ।
२६ °C काठमाडौं
Facebook Comments