थारु गाउँमा माघी पर्वको रौनक : संस्कृती र परम्परा हराउँदै गएकोमा चिन्ता
हरी गुरुङ, २९ पुष, बर्दिया । बर्दियाका थारु गाउँमा माघी पर्वको रौनक सुरु भएसंगै संस्कृती र परम्परा पुस्तान्तरण नहुँदा हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्न थालिएको छ । माघ १ गतेदेखि थारु नयाँ बर्ष सम्वत २६ सय ४९ शुरु हुँदैछ ।
थारु समुदायमा माघ महिनालाई नयाँ वर्षको रूपमा लिइने गरिन्छ । जस अनुरुप थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका नेतृत्व चयनको समेत छलफल सुरु भएको छ । माघी पर्वका अवसरमा पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर÷बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको छ ।
पर्वसँगै थारु समुदायमा गाउँका प्रमुखका रूपमा रहने बरघर, चिराकी, चौकीदार फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु हुने गर्दछ । नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ । टाढा टाढा काम गर्न वा कमाउन गएका परिवारका सदस्य अनिवार्य रुपमा घर फर्किने चलन रहेता पनि अचेल त्यस्ता चलन हराउँदै गएकोमा दुःख लाग्ने बताउनु हुन्छ ।
माघी मेलाको तयारी समेत भइरहेको छ । बर्दिया जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको छ । यसैबिच गाउँ घरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने सखिया नाँचले पनि माघी पर्वको रौनक सुरु गरेको छ । गाउँ–गाउँ, वस्ती बस्तीमा डफ, मादल बजाएर सामूहिक रूपमा सखिया नाचले माघी पर्वको उल्लास बढ्दै गएको छ गाउँमा उल्लास र माघको उत्साह छ ।
माघ १ गते बिहान नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ भने थारु संस्कृति परम्परा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यस दिन पशुपक्षी वध गर्नु हुँदैन भन्ने जनविश्वास रहेको पाइन्छ ।
१० °C काठमाडौं
Facebook Comments