• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
थारु गाउँबस्तीमा माघीको रौनक : कला–संस्कृति संरक्षणमा जोड 

दलबहादुर सुनार, १ माघ, बढैयाताल (बर्दिया) । थारु समुदायको महान् पर्व माघी पर्व भित्रिएसँगै गाउँ–बस्तीमा उत्सवमय रौनक छाएको छ । माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाइने यो पर्व थारु बाहुल्य क्षेत्रहरूमा पौष महिनाको अन्तिम हप्तादेखि नै विविध सांस्कृतिक कार्यक्रम मार्फत उल्लासका साथ मनाउने गरिन्छ । 

थारु समुदायले आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा माघी उत्सव र माघी मिलन कार्यक्रम आयोजना गरिरहेका छन् । यसै क्रममा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ७ र युवा गोचाली क्लब बढैयाताल–७ को संयुक्त आयोजनामा “हमार संस्कृति, हमार पहिचान : मूलवासी थारु हुइटी शान” भन्ने सन्देशसहित पालिकास्तरीय पुरन्या थारु नाच, जुझिक–जुझा तथा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई आकर्षक बनाउन बढैयाताल गाउँपालिका अन्तर्गतका विभिन्न थारु बस्तीबाट मौलिक कला–संस्कृति झल्किने झाँकीसहितको नाँच प्रस्तुत गरिएको थियो । झाँकी तथा नृत्य प्रस्तुतिले माघी मिलन कार्यक्रमलाई अझै रंगीन र उत्सवमय बनाएको छ । थारु समुदायको कला–संस्कृति प्रवद्र्धन र भेषभूषाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीले गर्नुभएको थियो । 

उद्घाटन मन्तव्यमा मन्त्री चौधरीले माघी पर्व थारु समुदायको विशेष पर्व भएको उल्लेख गर्दै थारु जातिको भेषभूषा, खानाका परिकार र परम्परागत संस्कृति विशिष्ट रहेको बताउनुभयो । उहाँले थारु कला–संस्कृतिको संरक्षण र जगेर्ना गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । बढैयाताल गाउँपालिका–७, तिलकानामा २८ गते सोमवार भएको माघी मिलन कार्यक्रममा बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाबाट गरी १० समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा थारु समुदायको लोकप्रिय मघौटा नाच, सखिया नाच तथा पुरानो सांस्कृतिक नृत्य डफाको प्रस्तुति गरिएको थियो ।

कार्यक्रम वडा नं. ७ का अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य भुवनेश्वर चौधरी, बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधकारी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू,  पालिका स्तरका बरघर, टोलका बडघर, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, थारु कला–संस्कृतिका जानकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । माघी मिलनको अवसरमा बढैयाताल गाउँपालिकाअन्तर्गत थारु समुदायका विशिष्ट व्यक्तित्वहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । 

आयोजक क्लबका अनुसार थारु भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यूवा गोचाली क्लवका अनुसारसम्मानित हुनेहरूमा थारू  कविता, गीत, गजल तथा थारु फिल्मको कथा लेखनमा सक्रिय शुसिल चौधरी, त्यसै गरी लुम्बिनी प्रदेशका संस्थापक सदस्य कबिराम थारु, बबई सिँचाइ आयोजनाको मूल समितिका संयोजक गोविन्द थारु,  सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल बिपिन थारु रहेका छन् ।

माघी पर्वको अवसरमा विभिन्न समुदायको कला, संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले चारवटा भजन समूहलाई खैंजडी, झ्याली, मुर्जुङ्गा, मादल र डिजेसहित दुई सेट सामग्री वितरण गरिएको छ । साथै, थारु समुदायका तीन समूहलाई सरदरी, फरिया, लेङ्गा र चोलीका तीन सेट प्रदान गरिएको युवा गोचाली क्लबका अध्यक्ष सिद्धान्त थारुले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments