रेडक्रस जस्तो पवित्र संस्थामा राजनीतिक प्रभाव पर्नु हुँदैन
दलबहादुर सुनार, ५ माघ, बढैयाताल (बर्दिया) । मानव सेवा गर्ने नेपाल रेडक्रस सोसाइटी जस्तो पवित्र संस्थामा राजनीतिक प्रभाव पर्न नहुनेमा रेडक्रस अभियान्ताहरूले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयातालको छैटौँ वार्षिक साधारण सभामा बोल्दै वक्ताहरूले रेडक्रसलाई निष्पक्ष, साझा र मानवीय सेवामै केन्द्रित राख्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उपशाखा सभापति मोहनलाल रेग्मीको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका उपसभापति गोविन्द शर्माले रेडक्रस संस्था निःस्वार्थ स्वयंसेवामा आधारित पवित्र संस्था भएको बताउनु भयो । “रेडक्रसको आजीवन सदस्य हुनु ठूलो कुरा होइन, यसको वास्तविक महत्व मानवीय सेवा हो,” उपसभापति शर्माले भन्नुभयो, “बजेट भए पनि नभए पनि विपद्को बेला निरन्तर मानव सेवामा लागिरहने संस्था नै रेडक्रस हो ।”
उहाँले बर्दियाका धेरै पालिकाले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरे पनि बढैयाताल गाउँपालिकाले यस्तो व्यवस्था नगरेको प्रति दुःख व्यक्त गर्नुभयो । साथै, रेडक्रसको नेतृत्व गर्ने व्यक्ति सामाजिक, साझा र संस्थाको विधि–सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि तथा बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले “जहाँ आवश्यक पर्छ, त्यहाँ रेडक्रस” भन्ने मूल मर्मलाई व्यवहारमा उतार्न सक्ने व्यक्तिको नेतृत्व आवश्यक रहेको बताउनु भयो ।
“सामाजिक संस्थामा राजनीतिककरण देखिएको छ, तर रेडक्रस जस्तो पवित्र संस्थामा राजनीतिको गन्ध पनि आउनु हुँदैन,” पौडेलले भन्नु भयो “स्वयंसेवा भावनाले ओतप्रोत नेतृत्व भएमा मात्र संस्था पवित्र र सेवा प्रभावकारी हुन्छ ।” उहाँले रेडक्रसलाई अनुशासित, मर्यादित र जनताले सेवा ‘देख्ने, सुन्ने र महसुस गर्ने’ खालको बनाउनु पर्नेमा जोड दिँदै संस्थाप्रति अपनत्व जगाउन अभिमुखीकरण आवश्यक रहेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका मन्त्री अर्जुन सुवेदीले रेडक्रसबारे बुझ्ने, सेवा भावनायुक्त व्यक्तिहरू निर्वाचनमार्फत नेतृत्वमा आउनुपर्ने बताउनु भयो ।
उहाँले बढैयाताल गाउँपालिका र रेडक्रस उपशाखाबीच सहकार्य गरी संयुक्त विपद् कार्ययोजना बनाउनुपर्नेमा जोड दिनु भयो । नेपाल रेडक्रस बर्दिया शाखाका पूर्व मन्त्री राजेन्द्र सिंह एल.सी.ले “जहाँ मानवीय पीडा हुन्छ, त्यहाँ रेडक्रस” भन्ने भावनाले ओतप्रोत संस्था रेडक्रस भएको उल्लेख गर्नु भयो । “सरकारले रेडक्रस चलाउन खोज्नु गलत हो,” उहाँले भन्नु भयो “पहिले जसरी रेडक्रस आफ्नै मूल्य–मान्यता अनुसार चल्थ्यो, त्यसरी नै सञ्चालन हुनुपर्छ । जबसम्म रेडक्रसलाई स्वच्छ सोचले हेर्दैनौँ, तबसम्म यसले न्याय पाउँदैन ।”
शुभकामना मन्तव्य राख्दै उपशाखाका पूर्व सभापति उद्धव सापकोटाले हरेक क्षेत्रमा खबरदारी आवश्यक रहेको भन्दै संस्थामा पारदर्शिता र राजनीतिक प्रभावरहित वातावरण हुनुपर्नेमा जोड दिनु भयो । छैटौँ साधारण सभामा नेपाल रेडक्रस बर्दिया शाखाका उपसभापति रामचन्द्र थापा, उपशाखाका निवर्तमान सभापति बेनीमाधव पौडेल, विद्या ज्योति मा.बि.का प्रधानाध्यापक भक्तिसागर रेग्मी, रेडक्रस प्रेमी पुस्कर सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपशाखा शीतलाबजारमा आइतबार सम्पन्न साधारण सभामा उपशाखाका सचिव लिलाधर त्रिपाठीले आ.व. २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपक दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उपसचिव सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
२७ °C काठमाडौं
Facebook Comments