बर्दिया क्षेत्र नम्बर २ मा निर्वाचन तयारी बैठक सम्पन्न
केशव कोईराला, २४ माघ, राजापुर (बर्दिया) । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन तयारी बैठक सम्पन्न भएको छ । निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धी सर्बपक्षिय बैठक गरिएको छ ।
बैठकले निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचार संहिता, २०८२ लाई कडाइका साथ पालना गराउने निर्णय गरेको छ । आचार संहिता लागु हुने व्यक्ति, संस्था, निकाय, राजनीतिक दल तथा उम्मेदवार सबैले यसको पूर्ण पालना गर्नुपर्ने निर्णय बैठकले गरेको हो । स्थानीय तहका कर्मचारी तथा स्थानीय तह मातहतका विद्यालयका शिक्षक र कर्मचारीलाई आचार संहिता कडाइका साथ पालना गर्न सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन जारी गर्ने निर्णय गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व वहन गर्दै आ–आफ्नो तर्फबाट प्रचार–प्रसार तथा जानकारी गराउने र आचार संहिता उल्लङ्घनका घटना देखिएमा निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला आचार संहिता अनुगमन समिति बर्दियामा जानकारी गराउने समेत बैठकको निर्णय छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका मतदान स्थलहरूमा आवश्यक पूर्वाधारको अवस्थाबारे स्थलगत अनुगमन गरिने भएको छ ।
मतदान स्थलहरूमा विजुली, पानी, शौचालय, कम्पाउण्डवाल लगायतका भौतिक पूर्वाधार तथा सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गर्न निर्वाचन अधिकृत र सशस्त्र प्रहरीको सुरक्षा टोली खटिने निर्णय गरिएको छ । भौतिक पूर्वाधारको आवश्यकता पर्ने मतदान स्थलहरूमा सम्बन्धित विद्यालय र स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उम्मेदवार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
२५ °C काठमाडौं
Facebook Comments