बढैयातालमा विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमै टिकाउन निर्देशिका
दलबहादुर सुनार, ३० फागुन, बढैयाताल (बर्दिया) । विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, पुनः भर्ना तथा विद्यालयमै टिकाइ राख्ने उद्देश्यले निर्देशिका निर्माणार्थ बर्दियाको बढैयाताल गाउँपालिकामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित सशक्त बालिका परियोजनाको आयोजना तथा बढैयाताल गाउँपालिकाको समन्वयमा कार्यशाला गोष्ठी गरिएको हो ।
कार्यशालामा विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्ने, विद्यालय छोड्ने बालबालिकाको तथ्यांक संकलन गर्ने, विद्यालय छोड्नुका कारणहरू पहिचान गर्ने तथा समाधानका सम्भावित उपायहरूबारे व्यापक छलफल र अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बढैयाताल गाउँ शिक्षा समिति, कार्यपालिका सदस्यहरू, सबै वडाका वडा अध्यक्षहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले बढैयाताल गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययनरत बालबालिकाको अवस्था, विद्यालय छोड्ने कारण, समाधानका उपाय तथा कार्यान्वयनका चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए ।
मधुबन नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं कार्यशाला गोष्ठीका सहजकर्ता नारायण खनालले विद्यालय बाहिर रहेका बालबालिकाको सुनिश्चितता गर्न सबै विद्यालय र सरोकारवाला निकायले रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा विद्यालय बाहिर रहेका बालबालिकाको सुनिश्चितता सम्बन्धी निर्देशिकाको नमूना र सर्वेक्षण प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो ।
बढैयातालको सुनगाभा होटलमा बिहीबारदेखि शुक्रबारसम्म सञ्चालन भएको उक्त कार्यशाला गोष्ठीमा सहभागी प्रधानाध्यापकहरूले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन अझै चुनौती रहेको बताएका छन् । बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाका भावी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो भने कार्यक्रम अधिकृत विजय शर्माले दुई दिने कार्यशालाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विद्यालयका प्रधानाध्यापकसहित ३६ जनाको सहभागिता रहेको परियोजनाका फिल्ड सुपरभाइजर रामबहादुर थारुले जानकारी दिनुभयो ।
२६ °C काठमाडौं
Facebook Comments