• ३ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
बाँसगढी सेफ हाउस निर्माण बिवाद बारे छुट्टा छुट्टै विज्ञप्ती 

विन्दु चौधरी, २५ चैत्र, बाँसगढी -बर्दिया) । बाँसगढी नगरपालिका, महिला जागरण सामाजिक शिक्षा केन्द्र र बर्दिया उपप्रमुख अभ्यास समूहले हालै प्रसारित समाचार र घटनाप्रति छुट्टाछुट्टै रूपमा विज्ञप्ती जारीगर्दै आपत्ति जनाएका छन् । बाँसगढी नगरपालिका ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

नगरपालिकाले प्रेस विज्ञप्ति जारीगर्दै पत्रकार आचारसंहिता विपरीत आक्रामक शैलीमा प्रस्तुत भई आधारहीन तथा भ्रामक आरोप लगाइएको भन्दै त्यसको भत्र्सना गरेको छ । विज्ञप्तिमा नगर उपप्रमुख इन्दिरचा चौधरी, वडा नं. ५ का अध्यक्ष दहवा थारु माथि लगाइएका आरोपहरू तथ्यहीन रहेको उल्लेख गरिएको छ । साथै, महिला जागरण सामाजिक शिक्षा केन्द्रद्वारा निर्माणाधीन सेफ हाउस सार्वजनिक हितका लागि सरकारी जग्गामा कानुनी प्रक्रिया अनुसार अनुमति लिएर बनाइएको स्पष्ट गरिएको जनाईएको छ । 

नगरपालिकाले सार्वजनिक जग्गा बेचिएको वा घुस लिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै सञ्चार माध्यमलाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेको छ । साथै, कुनै गुनासो वा प्रमाण भए आधिकारिक रूपमा जानकारी गराउन पनि अनुरोध गरिएको छ । यस्तै, महिला जागरण सामाजिक शिक्षा केन्द्रले सेफ हाउस निर्माणबारे उठेका प्रश्नमा स्पष्टिकरण दिँदै उक्त संरचना महिलाको संरक्षणका लागि सार्वजनिक हितमा कानुनी प्रक्रिया अनुसार निर्माण भइरहेको प्रेश विज्ञप्ती मार्फत जनाईएको छ । 

बर्दिया उपप्रमुख अभ्यास समूहले उपप्रमुखमाथि प्रश्न सोध्ने बहानामा गरिएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै आचारसंहिता विपरीतको व्यवहार बन्द गर्न आग्रह गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ, बर्दिया शाखाले बाँसगढी नगरपालिका–५ मा निर्माणाधीन सेफ हाउस सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारीगर्दै रिपोर्टिङमा खटिएका पत्रकारमाथि गरिएको व्यवहारप्रति खेद व्यक्त गरेको हो । 

महासंघले समाचार संकलनका क्रममा कुनै पनि पत्रकारमाथि दुव्र्यवहार नगर्न सचेत गराउँदै यस्ता घटना दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । साथै, पत्रकारहरूलाई पनि आचारसंहिता पालना गर्दै तथ्यमा आधारित र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत सम्बन्धित निकायसँग माग गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments