• ४ भदौ २०८३, बिहिवार
  • २२ °C काठमाडौं
वरिष्ठ सई जयप्रकाश भट्ट साउन महिनाको उत्कृष्ट प्रहरी 

केशव कोईराला, ४ भदौ, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक -वरिष्ठ सई) जयप्रकाश भट्टलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता, इमानदारी र कर्तव्यनिष्ठाका साथ प्रभावकारी रूपमा सम्पादन गरेको मूल्यांकनगर्दै भट्टलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भट्टले मैनापोखरमा जिम्मेवारी सम्हालेदेखि सीमा क्षेत्रमा हुने तस्करी, अवैध गतिविधि तथा लागूऔषध कारोबार नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । भट्टको नेतृत्व तथा सक्रियतामा भारतबाट भन्सार छली नेपालतर्फ भित्र्याइएका विभिन्न मालसामान नियन्त्रणमा लिनुका साथै लागूऔषध ब्राउन सुगर बरामद गर्ने र यसको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने कार्यमा उल्लेखनीय सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, अवैध रूपमा माटो उत्खनन गर्ने तथा प्राकृतिक स्रोतको गैरकानुनी दोहनमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाई पक्राउ गर्ने र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उपस्थित गराउने कार्यमा समेत भट्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ । कर्तव्यप्रति प्रतिबद्ध, लगनशील र परिणाममुखी भएर अपराध नियन्त्रण तथा नागरिक सुरक्षामा योगदान पु¥याएको मूल्यांकनका आधारमा भट्टलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले भट्टलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मान गर्नूभएको छ । उत्कृष्ट प्रहरी छनोटले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी रूपमा सम्पादन गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ । भट्टले आगामी दिनमा पनि संगठनले दिएको जिम्मेवारीलाई थप प्रभावकारी ढंगले पूरा गर्दै अपराध नियन्त्रण र नागरिक सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 

सम्बन्धित समाचार

Facebook Comments