मानव बेचबिखनको जोखिममा रहेका ३ हजार ५ सय ३९ जनालाई परामर्श
मुरली गोडिया, ४ भदौ, बर्दिया । मानव बेचबिखन तथा ओसार पसारविरुद्धको अभियान अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा बर्दियामा ३ हजार ५ सय ३९ जनालाई परामर्श सेवा प्रदान गरिएको छ । शान्ति पुनस्र्थापना गृहका अनुसार परामर्श लिनेमा २ हजार ४ सय ४३ जना अविवाहित र १ हजार ९६ जना विवाहित रहेका छन् ।
शान्ति पुनस्र्थापना गृहकी संयोजक सपना शर्माका अनुसार उमेर समूहका आधारमा सबैभन्दा बढी १८ देखि २५ वर्षका १ हजार ७ सय ४३ जनाले परामर्श लिएका छन् । त्यसपछि ११ देखि १५ वर्षका ६ सय ३९, १६ देखि १७ वर्षका ४ सय ९३, २६ देखि ३० वर्षका ४ सय १७, ३० वर्षभन्दा माथिका १ सय ९२ र १० वर्षभन्दा कम उमेरका ५५ जना रहेका छन् । जातीय आधारमा जनजाति समुदायका २ हजार ५ सय १७, बाहुन–क्षेत्रीका ४ सय १६, दलितका ३ सय ६८ र अन्य समुदायका २ सय ३८ जनाले परामर्श लिएका छन् ।
सो अवधिमा २१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १५ जनालाई अभिभावकको जिम्मा लगाइएको र ६ जनालाई प्रहरीमार्फत परिवारमा पुनर्मिलन गराइएको छ । स्थानीय तहगत विवरणमा बढैयाताल गाउँपालिकामा ७ सय ६५, बाँसगढी नगरपालिकामा ७ सय ४ र बारबर्दियामा ५ सय ५९ जनाले परामर्श सेवा लिएका छन् ।
यस्तै तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दा बर्दिया जिल्ला अदालतमा दर्ता भएको हो । यस अवधिमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन एउटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका लागि सचेतना, परामर्श र कानुनी पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । तथ्यांकले विशेषगरी युवा तथा किशोरकिशोरी मानव बेचबिखनको जोखिममा रहेको देखाउँदै समुदायस्तरमा निरन्तर सचेतना र परामर्श आवश्यक रहेको संयोजक शर्माले बताउनुभयो ।
२४ °C काठमाडौं
Facebook Comments