• १० असार २०८३, बुधवार
  • २८ °C काठमाडौं
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा बर्दियामा निःशुल्क स्वास्थ्य शिविर 

बर्दिया, ७ फागुन । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्य एवम् स्वास्थ्य कार्यालय बर्दिया र बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा सोमबार प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । 

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक कुबेर कडायत तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागितामा शिविर सम्पन्न गरिएको हो । आयोजित स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ, कोहलपुर डेण्टल अस्पतालका दाँत रोग विशेषज्ञ, भेरी अस्पतालका छाला रोग विशेषज्ञ, बर्दिया अस्पतालका स्त्री रोग विशेषज्ञ तथा जनरल फिजिशियन र बर्दिया आँखा अस्पताल बर्दियाका आँखा रोग बिशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक कमल प्रसाद चौधरीले बताए ।

शिविरमा १ सय ६२ जना प्रहरी कर्मचारी तथा ५२ जना प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारी गरी जम्मा २ सय १४ जनाको निःशुल्क स्वास्थ्य परिक्षणगर्दै उनीहरुलाई औषधी समेत वितरण गरिएको छ । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवरले आफ्नो ब्यक्तिगत, पारिवारिक समय नभनि चौविसै घण्टा डिउटीमा खटिनु पर्ने दायित्व भएकोले प्रहरी कर्मचारी स्वयंले आफ्नो स्वास्थ्य प्रति ख्याल राख्न समय समेत नपाउने र ढिला गरि रोग थाहा हुने भएकोले त्यसबेला सम्म आफ्नो स्वास्थ्य स्थिती बिग्रि सकेको हुने भएकाले समयमा आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उदेश्यले स्वास्थ्य शिविर संचालन गरिएको बताईन् ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा बर्दियाको बढैयाताल गाउँपालिका ०८ पशुपतिबजार स्थित पशुपति शान्ति शिवालय सुदामा बृद्ध सत्संग समुह बृद्ध आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले दैनिक उपभोग्य खाद्यान साम्राग्रीहरु तथा फलफुल समेत वितरण गरेको निरिक्षक चौधरीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments