• ११ भदौ २०८३, बिहिवार
  • २२ °C काठमाडौं
नेपालबाट नदीमा बगेका हात्ती भारतको गिरिजापुरी ब्यारेजबाट उद्धार

हरि गुरुङ, १० भाद्र, बर्दिया । बर्दिया खाता जैविक मार्ग हुँदै बग्ने गेरुवा नदिमा हात्तीका बच्चा सहित हात्ती भारतको गिरिजापुरी ब्यारेज पुगेका छन् । नेपालतर्फको जंगलबाट निस्केका पाँच जङ्गली हात्तीको समूह मंगलबार बिहान सरयू नदीको तीव्र धारमा फसेका  थिए ।

गेरुवा–कौडियाला नदीको तीव्र धाराले बगाएर तीन वयस्क हात्ती र दुई बच्चाहरु  सहित चौधरी चरण सिंह गिरिजापुरी ब्यारेजमा पुगेको बताईएको छ । बच्चाहरुलाई बचाउन प्रयास गर्दागर्दै हात्तीहरू बाँध नजिक पुगेको प्रत्यक्षदर्शीले बताए । हात्ती बग्दै आएको जानकारी पाएपछि भारतीय वन विभाग र सिँचाइ विभागले बाँधका ढोकाहरू बन्दगर्दै पानीको बहाव रोक्न समन्वय गरि पाँचवटा हात्तीहरूलाई सुरक्षित उद्दार गर्न भारतिय वन विभाग कतर्नियाघाट वन्यजन्तु आरक्ष सफल भएको छ ।

करिब बिहान १० बजेतिर ब्यारेज नजिकै हात्तीको बथान रहेको खबर फैलिएपछि सयौं मानिसहरू घटनास्थलमा भेला भएका थिए । परिस्थितिको गम्भीरता बुझ्दै कतरनियाघाट वन्यजन्तु डिभिजनका वन रेन्ज अधिकारी आशिष गौर, वन निरीक्षक राधेश्याम, डेपुटी रेन्जर मयंक पाण्डे र अन्य वन कर्मचारीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । पानीको बहाव कम भएपछि, हात्तीहरूको समूह बाँध नजिकै आइपुग्यो । त्यहाँ मानिसहरूको बढ्दो भीडले स्थितिलाई अझ संवेदनशील बनाएको बताईएको छ । 

वन कर्मचारीहरूले भीडलाई हटाएर हात्तीहरूलाई बाँधको ढोकाबाट टाढा पुर्याएपछि हात्तीहरूले किनारमा आएपछि सुरक्षीत साथ जंगल प्रवेश गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षलाई खाता जैविक मार्गले जोडेको छ । सो मार्गबाट वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गर्दछन । कतर्नियाघाट वन रेन्ज रेन्जर आशिष गौरले पाँचै वटा हात्तीहरु सुरक्षित रहेको र भारतिय जंगलतर्फ प्रवेश गरेको बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments